Saturday, July 25, 2015

विमती हुँदैमा छाडा शव्दहरू लेख्न पाईन्छ?


हामी नेपाली भाषीहरु आफ्नो दैनिक बोलीचालीमा पचाउन नसकिने किसिमका अनौठा टुक्का तथा छाडा थेगोहरू प्रयोग गर्न थालेका छौ। मनोरंजनका लागि भारतीय लगायत नेपाली चलचित्र, टेलिसिरियल आदिमा प्रयोग गरिने त्यस्ता फोहोरी र छाडा शव्दहरूवाट वनाईने भाषाहरूको प्रभावमा हाम्रो समाजले आफ्नो दैनिक बोलिचालीको भाषा नै बनाएको छ। साथी भाईसँग गरिने कुरा होस् या घर परिवार भित्र आफूले वोलिने भाषा तथा त्यसको शाव्दिक अर्थको कुनै सरोकार नै नराखी निर्धक्क र निःसन्देह प्रयोग गर्छौ। अर्कातर्फ आफूले मान्ने ठूलो मान्छे हुन वा माया गर्नुपर्ने साना नानीहरू हुन, वोलिने भाषात्मक वाक्यको अर्थलाई ख्याल गरिँदैन र आफूलाई चित्त नवुझेमा वा रिस उठेमा भनिन्छ-‘मुखमा हान्नु जस्तो’, आदि! ‘खाते’ शव्दको अर्थ थाहा हुँदैन तर मनपरि यत्रतत्र प्रयोग गरिन्छ। त्यस्तै उच्चारण गर्न नै नमिल्ने अनेकौ छाडा शव्दहरू छन जसको प्रयोग हाम्रो समाजले गर्न थालेको छ। यस्ता भाषागत शव्दहरुको प्रयोग कहॉ र कसरि गर्ने भन्ने कुनै हेक्का गरिदैन तापनि हाम्रो समाजले यस्ता भनाईलाई सजिलै पचाउँदैछ। अन्य धेरै विकृत आयातित शव्दहरु छन् जुन आजकल लोकगीत तथा लोकदोहोरी गीतहरूमा समेत पाईन्छन्। समाजमा पार्न सक्ने नकारात्मक पक्षलाई वेवास्ता गरी गीतहरूमा समेत प्रयोग गरिएका यस्ता शव्दहरूमा रमाईलो मान्न थालेको छ हाम्रो समाजले। यस वाहेक अन्य धेरै छाडा शाव्दिक टुक्काहरुको प्रयोग नेपाली चलचित्रहरूमा गरिदैछ जसलाई हाम्रो समाजले सहजरूपमा अनुकरण गरी आफ्नो दैनिक वोलिचालीको भाषा बनाउँदैछ। मान्छेको विकासक्रममा धेरै कुराले महत्व राख्छ। अरूको सिकोभन्दा पनि आफ्नो सकारात्मक सोच र बिचारबाट नै मान्छेको विकाश सम्भव हुन्छ। हामी जे जस्तो कर्म वा काम गर्दछौ त्यसको ठाडो सम्बन्ध हामीले अंगालेको सोच र विचार संग हुन्छ। सहि सोच र विचारको माध्यमले नै हामीले गर्ने कर्मको फल स्वरुप सकारात्मक नतिजा प्राप्त गर्छौ। यस्ता कर्मबाट नै हामी विकासक्रमको खुड्किलो चड्दै सम्पनता वा प्रगतिको बाटो हिड्न सक्दछौ। यसको विपरित, कुविचार् र कुसस्कार लिएर हिड्ने मान्छेले आफ्नो विनास त गर्छ नै आफ्नो परिवार लगायत समाजलाई समेत गलत बाटोमा लैजान सक्छ। हामी मनोरञ्जनका नाममा चलचित्र होस् वा अन्य कुनै मनोरन्जनात्मक कार्यक्रमको माध्यमले समाज भित्र गलत कु-संस्कारको बिउ रोप्दैछौ। कुनै विचार नै नगरी फोहोरी तथा छाडा शव्दहरूलाई थेगोको रुपमा मुखमा जे आयो त्यहि बोल्ने वानीले संस्कारी भएको मानिदैन। स्कुल, बाटो घाटो वा घरमा केटा केटीहरूले बोलेको, त्यस्ता अभद्र,अशोभनीय तथा छाडा भाषागत थेगोहरुलाई हामीले रमाइलो मानेर सुन्न र मनोरन्जनको रूपमा लिन मिल्छ? आफ्नो परिवार, समाज र संस्कृतिको विकासमा हामीले आफ्नो दायित्व भूल्दैछौ र राजनीतिक नेताहरूले मात्र देश विगारे भनेर कुर्लन्छौ। संस्कृतिको विकास पनी राष्ट्र विकासको एक अंग हो। तर हामीले आफ्नै संस्कृतिको ठाडो धज्जी उड़ाईरहेको कुराको हेक्का गरेका छैनौ। म नियमित नेपाली पत्रपत्रिका पढ्छु। पाठकहरूको प्रतिक्रियावाट नै लेखकले आफ्नो सोच र विचारका साथै लेखाईलाई समेत अझ राम्ररी परिमार्जित गर्ने अवसर पाउने भएकाले लेखकको लागि पाठकहरूको प्रतिक्रिया महत्वपूर्ण हुन्छ! तपाई कुनै पनि लेखको पुच्छरमा प्रतिक्रिया पढ्नुभयो भने कम्तिमा पच्चिस प्रतिशतभन्दा बढी पाठकहरूले आफ्नो प्रतिक्रियामा छाडा शव्दात्मक भाषाहरुको प्रयोग गर्ने गरेको पाउनु हुनेछ। यस सम्वन्धमा अनलाईन समाचारका वेबसाईट तथा तिनका फेसवुकमा पाठकहरूवाट गरिने प्रतिक्रियाहरूको अध्ययन गर्दा त्यस्ता अभद्र,अशोभनीय तथा छाडा शव्दात्मक भाषा प्रयोगकर्ताहरू अधिकांस शिक्षित वर्ग नै भेटिए। के विमती हुँदैमा यस्ता शिक्षित वर्गले छाडा शव्दहरूको प्रयोग गरी टिप्पणी तथा प्रतिक्रिया लेख्न सुहाउँछ? अलिकति जान्नेसुन्ने र पढेलेखेको भन्दैमा आफ्नो भाषा र संस्कार विर्सनु जरूरी छैन। कुनै पनि प्रतिक्रिया सकारात्मक, नकारात्मक वा दुवै हुन सक्दछन्, यसलाई कसरि प्रस्तुत गर्ने हो त्यो हाम्रो विवेकको कुरो हो। सकारात्मक सोचको अभावमा मान्छेले आफूलाई वाहेक अन्यलाई असल देख्दैन। के कुनै पनि नकारात्मक कुरा व्यक्त गर्न हाम्रा शभ्य र संस्कारी शाव्दिक भाषामा खडेरी नै लागेको हो? छाडा भाषागत शव्दहरूको प्रयोगले हाम्रा राम्रा र सभ्य भाषागत शव्दहरू विस्तारै विस्तापित हुन थालेका छन्। हाम्रा पुर्खाहरुले पूर्वदेखि पश्चिमसम्म प्रयोग गर्ने राम्रा र सभ्य भाषागत थेगोहरु पनि प्रशस्तै छन् जसलाई समाजले विस्तारै विस्तापित गर्दैछ। असल र राम्रा कुराहरूको सिको गर्न कुनै उमेर, जाति, वर्गले तगारो लगाउँदैन। म स्मरण गर्न चाहान्छु झर्‍यो भाषा आन्दोलनका नाईके तथा साहित्यकार श्री चूड़ामणि रेग्मी (चुमरे), भाषावीद् स्व. वल्लभमणि दाहाल, विविसि नेपाली सेवाका पूर्व सञ्चालक खगेन्द्र नेपाली तथा विविसि नेपालीका पूर्व साझा सवाल कार्यक्रम सञ्चालक नारायण श्रेष्ठ ठेट नेपाली शव्दात्मक भाषाको लोभलाग्दो प्रयोग गर्न खप्पिस मानिने व्यक्तित्व हुन्। यी व्यक्तित्वहरू बाहेक अन्य भाषावीदहरू तथा समाजका अग्रजहरू पनि छन् जसबाट नेपाली समाज लगायत चलचित्र निर्माता तथा अन्य सरोकारवालाहरूले ठेट तथा शभ्य भाषाहरुको प्रयोगको अनुकरण गर्न सक्नेछन्। मलाई आशा छ यो लेख पढे पश्चात पाठकहरूले आफ्नो प्रतिक्रियामा भद्र र सभ्य भाषाको प्रयोग गरी आफू, आफ्नो परिवार र सिंगो देशलाई नै शभ्य नागरिक भएको परिचय दिनु हुनेछ।

0 comments:

Post a Comment