Friday, September 4, 2015

डा.केसी र पूर्व मुख्यसचिव पाैडेल भक्कानिएर रोएपछि...


काठमाडौं—शुक्रबार बिहान डा.गोविन्द केसी अनसन बसिरहेको त्रिवि शिक्षण अस्पताल स्थित गणेशमान सिंह इएनटी सेन्टर भवनको तेस्रो तल्ला एकाएक भावुक बन्यो। थोरै आफन्त, विद्यार्थी र चिकित्सकसँगै केसी अनसनस्थलमा थिए। केसीको माग, सरकारी प्रतिबद्धता र माग पूरा गर्ने उपायबारे पूर्व मुख्य सचिव लीलामणि पौडेल डा.केसीका सहकर्मीलाई बुझाउँदै थिए।

पौडेल घरि उपाय सुझाउँथे, घरि अप्ठ्यारा बताउँथे। 'देशको नियति नै यस्तै छ', चार साता अघिसम्म राष्ट्रको प्रशासनयन्त्रको बागडोर सम्हालेका उनी भन्दैथिए, 'राम्रो नियत भएका मान्छे पाउनै गाह्रो छ। राम्रो कुरा कार्यान्वयन गर्न झन् गाह्रो छ।'

यसअघिको केसी अनसनका माग सम्बोधन गर्न सरकारको नेतृत्व गरेका पौडेल शुक्रबार आमनगरिकको रुपमा डा.केसीको अनसनमा ऐक्यबद्धता जनाउन शिक्षण अस्पताल पुगेका थिए।

आफूले केसीका माग जायज छन् भन्ने महसुस गरेर पनि कतिपय मागहरु पूरा गराउन धेरै अवरोध सामना गर्नुपरेको अनुभव उनले सुनाए। सहज कुराकानी भइरहँदा पौडेलले केही दिन अघि बीबीसी नेपाली सेवामा प्रसारित डा.केसीको अन्तरर्वार्ताको प्रसङ्ग सम्झिए। 'मैले धेरैपटक त्यो अन्तरर्वार्ता सुनेँ र प्रत्येक पटक सम्हालिन नसकेर रोएँ', वाक्य पूरा नहुँदै उनका आँखा टिलपिल भइसकेका थिए। सम्हालिन कोसिस गर्दै उनले दुवै हातले आँखा छोपे। र आँसु पुछे।

अघिल्लो पटक अनसन बस्दा वार्ताका लागि सरकारको तर्फबाट गम्भीर रुपमा पहल गर्ने पौडेलले आँसु खसालेको देखेपछि डा.केसी थामिन सकेनन्। उनले डाकै छोडे। दुवैजना भक्कानिएर रोए। अनसन स्थलको स्थिति करिब १० मिनेट असहज बन्यो। डा.केसीसँगै रहेका चिकित्सक र विद्यार्थीको पनि सम्हालिन नसकेर रुन थाले। कोही आँसु पुछ्दै बाहिर निस्किए।

स्थितिलाई सामान्य पार्न पूर्व मुख्यसचिव पौडेलले आफैँ प्रसङ्ग मोडे। उनले माथेमा प्रतिवेदन प्रशासनिक जटिलताबिना कार्यान्वयन गर्न सकिने सहज बाटाको खोजीका लागि आफ्नो ज्ञानले भेटेसम्म सहयोग गर्ने वचन दिए। करिब डेढघन्टाको बसाइपछि पौडेलले आफू सामान्य नागरिकको रुपमा केसीले उठाएका एजेन्डा कार्यान्वयनका लागि सदा सहयोगी भएर काम गर्न तत्पर रहेको प्रतिबद्धता जनाए। र, विदा भए।

0 comments:

Post a Comment