Monday, September 14, 2015

चाल्र्स शोभराजद्वारा सर्वोच्चमा मुद्दा दायर



काठमाडौं–नेपालका विभिन्न कारागारमा रहेका बन्दीहरुलाई सरकारले दैनिक रुपमा दिएको भरण पोषणले नपुगेको दाबी गर्दै अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज गुरुमुखले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

४५ रुपैयाँ नगद र ७ सय ग्राम चामल मात्रै दिने गरेको भन्दै शोभराजले त्यतिले पेट नपुग्ने दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। 'बन्दीलाई यतिमात्रै दिनु भनेको भोकै मर' भनेजस्तै भएको दाबी गर्दै शोभराजले बन्दीको मानव अधिकार उल्लंघनको भएको जिकिर गरेका छन्।

बिदेशी जेल थुनिएका बन्दीहरुले दिनको तीन पटक खान पाउने तर नेपाली जेलमा भने ४५ रुपैयाँले आफैं किनेर खानुपर्ने शोभराजको दाबी छ। महंगीको मार जेलभित्र पनि परिरहेको भन्दै उनले बन्दीहरुको सिदा रकम बढाउन माग रिटमा गरेका छन्।

कारागारमा काम गर्ने प्रहरीले खाना वापत मासिक ५२ सय पाउने गरेको भन्दै शोभराजले बन्दीले पाउँदै आएको दैनिक ४५ रुपैयाँ सिदालाई पनि १४५ रुपैयाँ बनाउनका लागि परमादेश लगायत उपयुक्त आदेशको माग गरेका छन्।

बन्दीहरुको सिदा बढाउनका लागि दायर गरिएको रिटका लागि शोभराजका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्चमा रिट दायर गरेका हुन्। शोभराजको रिटमाथिको पहिलो सुनुवाइ मंगलबार हुँदैछ। अन्तरर्राष्ट्रिय अपराधीका रुपमा बदनामी कमाएका ७० वर्षीय शोभराज ०६० सालदेखि केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन्।

अमेरिकन र क्यानेडियन नागरिकको हत्यामा थुनामा रहेका उनले यसअघि पनि विभिन्न माग राख्दै मुद्दा दायर गर्दै आएका थिए। भक्तपुर जिल्ला अदालतले क्यानेडियन नागरिकको हत्यामा दोषी ठहर गरी सकेको छ। त्यो विरुद्ध उनी पूनरावेदन अदालतमा विचाराधीन रहेको छ।

0 comments:

Post a Comment