Friday, September 4, 2015

यसरी भयो मैनापोखर घटना


भाद्र १८, २०७२- काठमाडौंबाट आएको दुई यात्रुबाहक बसलाई सुरक्षाकर्मीले स्कर्टिङ गरेपछि उत्पन्न विवादले दुई पक्षबीच झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

‘शुक्रबार बिहान निर्धारित कार्यक्रम अनुसार थरुहटका कार्यकर्ताहरु मैनापोखर बजारमा प्रदर्शन गर्दै थिए । सुरुमा उनीहरु थोरै थिए । प्रदर्शन शान्तिपूर्ण थियो । बिहान करिब साढे ७ बजे काठमाडौंबाट हिँडेका दुई रात्रीबस नेपालगन्ज हुँदै बर्दियाको सदरमुकाम गुलरिया जान अाइपुगे । आन्दोलनकारीले ती बस मैनापोखरमा रोके । करिब डेढ घण्टासम्म प्रहरी र आन्दोलनकारीबीच विवाद भयो,’ एक प्रत्यक्षदर्शी भन्छन् ।

इलाका प्रहरी कार्यालय मैनापोखरले रोकिएको बस चौकीमा सुरक्षित राख्न अनुरोध गरिरहेको स्थानीयले बताए । तर आन्दोलनकारीले भने बस सडकमै राख्नु पर्ने अडान लिए ।

‘बिहान करिब १० बजे सदरमुकाम गुलरियाबाट दुई ट्रक सुरक्षाकर्मी घटनास्थल आइपुगे । उनीहरुले रोकिराखकेका बस स्कर्टिङ गरेर लगे । इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी एक्ला भए । आन्दोलनकारीहरु इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक खेमराज रावतसँग आक्रोशित भए ।

'विवाद चलिरहेको थियो । झडप भएको थिएन । गोलीको आवाज सुनिएन,’ घटना हेरिरहेका स्थानीयले सुनाए, ‘एक्कासी एकजना सुरक्षाकर्मी ढलेको देखियो । गुलरियाबाट आएको सुरक्षाकर्मी भीड हटाएर गएको भए उक्त घटना नहुन सक्थ्यो । मैनापोखर प्रहरी एक्लो भएपछि नहुने घटना भयो ।’

त्यसलगतै प्रहरीले करिब ९ राउण्ड हवाई फायर गरेपछि आन्दोलनकारी तितरबितर भए । घटनामा इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी हवल्दार देबबहादुर पाण्डेको मृत्यु भएको छ । आन्दोलनरत पक्षतर्फ घाइतेको अवस्था खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बर्दिया प्रहरी प्रमुख गोविन्दराम परियारलगायतको टोलीले घटनाको स्थलगत अध्ययन गरेको छ । मैनापोखर बजार अहिले सुनसान छ । प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजी गरिरहेको छ ।
-कान्तिपुर बाट 

0 comments:

Post a Comment