Monday, August 17, 2015

अलपत्र गाडी स्कटिङ गर्ने क्रममा झडप, चार राउन्ड हवाई फायर


सिरहा—आइतवारदेखि अलपत्र सवारी साधन स्कटिङ गर्ने क्रममा सोमवार साँझ सुरक्षाकर्मी र बन्दकर्ताबीच सिरहाको मिर्चैयामा झडप भएको छ। झडपपछि आक्रोशित बन्दकर्ताले मिर्चैयाको घुर्मी पुल नजिक ना ५ ख ४४२९ नम्बरको यात्रु बसमा आगजनी गरेका छन्। आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ। बसमा सावार यात्रु ओराल्न रोकिएसँगै चार पाँच जनाको समूहले यात्रुलाई ओराली बसमा आगो सल्काइदिएको एक यात्रीले बताए। ६ प्रदेशको सिमाङ्कन बिरुद्ध आन्दोलनमा उत्रिएको मधेसी मोर्चा र बैद्य नेतृत्वको मोर्चाको बन्दका कारण करिब २ सय सवारी साधन सिरहाको बन्दीपुरमा आईतवारदेखि अलपत्र थिए। अलपत्र सवारी साधनलाई पूर्वी गन्तवयमा पु¥याउन सुरक्षाकर्मीले गरेको स्कटिङबीच बन्दकर्ताले सावरीसाधनमाथि मिर्चैयामा ढुंगा प्रहार गर्न थालेपछि सुरक्षाकर्मी बन्दकर्ता बिच झडप भएको हो।


शान्तिपूर्ण आन्दोलनको क्रममा प्रहरीले बल प्रयोग गरेको आक्रोशमा बन्दकर्ताले मिर्चैया बजारमा रोकि राखेको रोलरमा समेत आगजनी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले करिब दुई दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ। सुरक्षाकर्मीले घर घर पसेर सर्वसाधारणलाई कुटेको स्थानीय व्यपारी अशोक साहले जानकारी दिए । सोमवार रातीसम्म सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप जारी छ। प्रहरीले अवस्था नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर समेत गरेको ब्यपारी साहले बताए। हवाई फायर हाम्रो तर्फबाट भएको छैन एसपी साहले भने 'सशस्त्र प्रहरीको तर्फबाट हवाई फायर भएको हो।' मिर्चैयामा जारी तनाव नियन्त्रणमा लिन सुरक्षा समितिको आकस्मिक बैठक बस्ने तयारी हुँदै छ उनले भने, 'अवस्था अनियन्त्रित भैइरहे कफ्र्यु आदेश जारी हुन सक्छ।'

0 comments:

Post a Comment