Monday, August 3, 2015

चतारा पुल सञ्चालनमा,जोडियो धरान–गाईघाट


उदयपुर– पूर्व–पश्चिम वैकल्पिक लोकमार्ग सोमबारदेखि सञ्चालनमा आएको छ । सुनसरीको बाराहाक्षेत्र गाविसको चतारादेखि उदयपुरको मैनामैनी सीमास्थल चतारास्थित सप्तकोसीमा निर्मित पक्की पुल प्रधानमन्त्री शुशील कोइरालाले सोमबार उद्घाटन गरेपछि सो मार्ग विधिवत सञ्चालनमा आएको हो। एसियाली विकास बैंक (एडिवी) को ६० प्रतिशत र नेपाल सरकारको ४० प्रतिशत लगानीमा निर्मित पुल दुईसय ६१ मिटर लामो तथा १० मिटर चौडाईको रहेको निर्माण कम्पनीले जनाएको छ । सन् २०११ नोभेम्बरदेखि तीनवर्षमा सम्पन्न गर्नेगरी निर्माण कार्य सुरु भएकोमा प्राविधिक कारण देखाउँदै निर्माण कम्पनीले डेडवर्ष बढी समय लगाएर पुल निर्माण गरिसकेको हो । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले शिल्यान्यास गरेको उक्त चार स्पानको पुल प्रधानमन्त्री कोइरालाले औपचारिक उद्घाटन गरेपछि विधिवत रुपमा सवारी साधनहरु वारपार गर्न थालेका छन् । उदयपुुरको मैनामैनी गाविस १ कोठुदेखि सुनसरी बराहक्षेत्रको चतरा बजारदेखि तीन किलोमिटर उत्तर पश्चिम चतराघाटमा बनेको पुल ६७ करोड ११ लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो । सुनसरी र सप्तरीको सीमास्थल भारदहस्थित कोसी व्यारेजको आयु सकिएपछि कुनै पनि बेला भत्कनसक्ने खतरासँगै चतराघाटमा बैकल्पिक पूर्व–पश्चिम लोकमार्गको अवधारणा अघि सारिएको थियो । २० वर्षअघिदेखि चतारामा पुल निर्माण गर्ने अवधारणा अघि सारिएको भए पनि सरकारले पहल नथाल्दा प्रतिक्षाको विषय मात्र बनेको उक्त ठाउँमा ०६५ भदौ ३ गतेको विनाशकारी कोसी कटानबाट तीन महिना सडक अवरुद्ध भएपछि पल बनाउने पहलले तिब्रता पाएको थियो । पुल सञ्चालनमा आएपछि धरानदेखि गाईघाटसम्मको सोझो यातायात सम्पर्क हुने भएको छ भने पहाडी भेगका जिल्लासँग लोकमार्ग जोड्न मद्धत पुगेको छ । गाईघाटदेखि बेलटार–रामपुर ठोक्शीला–मैनामैनीको सोमबारे हुँदै धरानसम्मको यात्रा सवा दुई घण्टामै पूरा गर्न सकिने हिमाली यातायात व्यवसायी संघ उदयपुरले जनाएको छ । गाईघाट–बेलटार–ठोक्शीलाबीचका केही खोला खहरेमा साना–ठूला पुल र कल्भर्ट निर्माण गर्न सके बाहै्र महिना गाईघाट–धरान यातायात सञ्चालन गर्न सकिने संघले जनाएको छ । गाईघाट–बेलटार खण्डको २२ किलोमिटर दूरीको सडकमा पर्ने बरुवा खोलामा आठ स्पानको पुल अन्तिम चरणमा पुगेको छ । त्यस्तै सोही मार्गको हडिया भिमामा पर्ने भिमा खोला र बेलटार नजिकैको द्वारखोलामा निर्माणाधिन पुल ५० प्रतिशत हाराहारी काम सकिएको छ । बरुवाको पुल यही भदौदेखि सञ्चालनमा आउने तयारीमा छ भने भिमा र द्वारका पुल एकवर्षभित्र निर्माण भईसक्ने निर्माण कम्पनीले जनाएका छन् ।

0 comments:

Post a Comment