नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गरेको बन्दका क्रममा शुक्रबार दिउँसो सोह्रखुट्टेमा बा १ ज २३०१ नम्बरको ट्याक्सीमा आगो लगाइयो । ट्याक्सीका चालक राकेश तामाङ आगो लगाइदा ट्याक्सी भित्रै थिए । उनले घटनाबारे कान्तिपुरलाई यसरी बताए : मेरो नाम राकेश तामाङ हो । ३३ वर्षको भएँ, घर नुवाकोटाको टुप्चे । बानियाटार बस्छु । श्रीमती र छोराछोरी छन् । छोरी २ कक्षामा पढ्छिन्, छोरा भर्खर नर्सरीमा जान थालेको छ । मैले काठमाडौंमा ट्याक्सी चलाउन थालेको २०६३ सालदेखि हो । अर्काको भन्दा आफ्नै ट्याक्सी चलाउन पाए हुन्थ्यो भन्ने कसलाई हुन्न र ? मलाई पनि त्यस्तो लाग्थ्यो । ५–६ महिना अगाडि त्यो रहर पूरा भयो । सदाबहार फाइनान्समा जग्गा धितो राखेर ६ लाख ऋण लिएर ट्याक्सी किने । ९५ मोडलको पुरानो ट्याक्सी भए पनि अझै २ वर्ष चलाउन पाइने भन्ने थियो । दुई वर्ष चलाउँदा ऋण तिर्ने पैसा उठिसक्थ्यो । केही दिनदेखि अब पूरानो मोडलको चलाउन नपाइने भन्ने कुरा पनि सुनिरहेको थिएँ । आज बन्द छ भन्ने मलाई थाहा थियो । तर, बिहानदेखि नै गाडी चलेका थिए । गाडी नचले आफ्नो कमाई हुँदैन, घरमा कसरी बस्नु भनेर म निस्किएँ । ८ बजेतिर टिप भेटियो, दक्षिणकाली जाने । दक्षिणकालीमा मान्छे पुर्याएर हात्तिवन आएँ । हात्तिवनमा फुपु हुनुहुन्छ । फुपुलाई भेटेर म बानियाटार फर्किदै थिएँ ।

तीन बजेतिर म सोह्रखुट्टे आइपुगें । सडकमा टन्नै ट्याक्सी चलिरहेका थिए । बन्दकर्ता पनि देखिएका थिएनन् । अहिले पनि यहाँ ट्याक्सी कुदिरहेका छन् । दुईजना मान्छेले मेरो ट्याक्सी रोकेर खाली हो भनेर सोधे । मैले कहाँ जाने भनेर सोध्दै थिएँ, ती मान्छेले केही पोका मेरो ट्याक्सीमा फ्याँके । के फ्याँके भनेर मेसो नपाउँदै गाडीमा आगो बलिसकेको थियो । म ट्याक्सी भित्रै थिएँ । आफ्नो गाडीमा आगो बलेको देखेर आत्तिएँ । अनि ट्याक्सीबाट झरें । बाहिर उत्रिएर हेर्दा त गाडी ह्वारह्वार्ती बलिरहेको थियो । मान्छेहरु जम्मा भए । गाडीमा आगो लगाउने भने भागी सकेछन् । पोकोमा पेट्रोल थियोजस्तो लाग्छ, आगो लगाएर हानेका रहेछन् । दुई जनाको अनुहार मलाई याद छ, अरु को–को थिए, होश भएन । मेरो कपाल आगोले डढाएको छ । हातमा पनि आगोको रापले समाएर पोलिरहेको छ । म बेलैमा बाहिर ननिस्किएको भए ट्याक्सीसँगै म पनि जल्ने रहेछु । धन्न, निस्किइहालें ।
पछि प्रहरी आएर आगो निभायो । तर, ट्याक्सी कामै नलाग्नेगरी जलिसकेको छ । ट्याक्सीको बिमा गरेको छैन । फाइनान्समा ऋण छ । बल्ल चलाउन थालेको थिएँ । अब के गर्ने होला मैले केही सोचेको छैन । श्रीमतीलाई पनि केही भनेको छैन । थाहा त पाइसक्यो होला ।सोह्रखुट्टे प्रहरीले केही मान्छे समाएको रहेछ । मलाई देखायो पनि । तीमध्ये कोही मेरो ट्याक्सी जलाउने थिएनन् । मेरो दिमागले केही काम गरेको छैन, ह्याङ भएजस्तो भइरहेको छ । मेरो मनमा एउटै कुरो छ, अब ट्याक्सी कसरी चलाउने ? कहाँबाट ल्याउने ? ऋण कसरी तिर्ने ?
इकान्तिपुर बाट साभार
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment