Thursday, July 23, 2015

किन छोप्यो सूर्यलाई वृत्ताकार घेराले?


काठमाडौं– बिहीबार मध्यान्ह् आकासमा अनौठो दृश्य देखियो। सिपालु बुनकरले बनाएको वृत्ताकार नाङ्लो जस्तो कालो घेराले सूर्यलाई घेर्‌यो। धेरै मान्छे अचम्मित भए । कसैले आकाशमा इन्द्र सभा बसेछ भन्दै सोसल मिडियामा पोस्ट गरे। कसैले सूर्यसभा बसेछ भन्न थाले। केहीले अनिस्टको संकेत मान्दै भूइँचालोसँग जोडेर जनजीवन आतंकित पार्न खोजे । यस्तो देखिएको थियो सूर्य। खास भएको के हो ? हामीले यो प्रश्न नेपाल एस्ट्रोमिनकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईसँग राख्यौं। 'बायुमण्डलको तापक्रम चिसोबाट तोतोमा परिर्वतन हुँदा यस्तो घटना हुनेगर्छ', उनले नागरिकन्युजसँग भने, 'यसलाई खगोल विज्ञानमा सन हालो भनिन्छ।' चन्द्रमालाई पनि कहिले कहीँ यस्तै बृत्ताकार बादलले छोप्ने गर्छ। चन्द्रमालाई छोप्नुलाई 'लुनार हालो' भनिन्छ। ब्रह्माण्डमा भएका अन्य ताराहरुका हकमा पनि यस्तो 'हालो' देखिने गरेको उनले बताए। बायुमण्डलमा भएको ग्यास, पानी तापक्रम परिवर्तन हुँदा फेरिने कारणले यस्तो हालो बन्ने गर्दछ। 'इन्द्रसभा, सूर्यसभा भन्दा पनि यसलाई वैज्ञानिक घटनाको रुपमा लिएर मनोरञ्जन गर्नु राम्रो हुन्छ', भट्टराईले भने। अनिस्ट हुने वा अन्य किसिमका भविष्यवाणीको वैज्ञानिक सत्यता नभएको भट्टराईले बताए। 'यो नितान्त हाम्रो बायुमण्डलमा भएको तापक्रम परिवर्तनको खेल हो', उनले भने, 'यसको फोटो खिच्ने, मनोरञ्जन गर्दा राम्रो हुन्छ। इन्द्रेणी देखिए जस्तै यो पनि सामान्य घटना हो।'

0 comments:

Post a Comment