
केही वर्ष अगाडि नेपालका एक बाम बुद्धिजिबी, लेखक तथा अखवारी स्तम्भकारले अमेरिकाको भिसा पाएनन्। भिसा नपाएकै झोकमा उनी अमेरिकाको एक नम्बरी विरोधी भए। उनले वैचारिक सिद्धान्तको आड लिएर अमेरिका र अमेरिकी नीतिको आलोचनामा थुप्रै शब्दहरु खर्चिए।
आफूलाई माक्र्सवादको वादशाह ठान्ने ती बुद्धिजिबीले करिव ६ महिना अगाडि अमेरिका घुम्ने अवसर पाए र स्वदेश फर्के लगत्तै अमेरिकी वैभव र लोककल्याणकारी अमेरिकी नीतिको प्रसंसा गर्न थाले। हाल ती लेखकको परिवार अमेरिकाकै स्थायी वसोवास अनुमती पाएर यत्तै रहदै आएका छन्।
गतसाल नेपालकी एक चर्चित नायिकाले अमेरिका भ्रमण गरेर स्वदेश फर्के लगत्तै संचारकर्मीमाझ अमेरिकामा धेरै नेपाली ‘होमलेस’ भएको र अमेरिकी जीवन त्यस्तो गर्व गर्न लायक नभएको प्रतिक्रिया दिइन । केही महिना अघि तिनै नायिका पुनः अमेरिका छिरेकी छिन । सम्भवत यतै बस्ने वा यतैको कुनै व्यवसायमा लगानी गर्ने उनको तयारी रहेको खवरहरु सार्वजनिक भएका छन् ।
केही महिना अगाडि एकदैनिकमा पत्रिकामा कार्यरत पत्रकार एउटा कार्यक्रममा सहभागिहुन अमेरिका आए । अमेरिकामा आउनु र यतै लुकेर नवसी स्वेदश फर्किएको विषयलाई ति पत्रकारले ठूलो फूलबुट्टा सहितको एक लेख प्रकाशित गरे । केही हप्ता अगाडि तिनै पत्रकार यतै बस्ने तयारीका साथ पुनः अमेरिका छिरेका छन् । यस्ता कथित राष्ट्रप्रेम अमेरीकामा बस्न थालेदेखि भरै देख्न थालिएको छ ।
आफ्नो अनुकुलतमा कथित राष्टभक्तीको दुहाई दिएर नथाक्नेहरुका लागि प्रतिकुलतामा अमेरिका सुरक्षित आप्रवासनको पहिलो गन्तव्य बन्ने गरेको तथ्य जगजाहेर छ ।
छोटो कार्यक्रमकै लागि भए पनि अमेरिका छिर्नुलाई ठूलो उपलब्धी ठान्ने र अमेरिकाको भिसा लाग्नुलाई स्वर्गजाने ढोका खुलेझै मानी नेपालमा सानो तिनो भोजकै आयोजना गर्नेहरु लेख्नकै लागि अमेरिकाको आलोचक बनिदिन्छन । अमेरिकाको भिसा पाउनु र यहाँको ग्रिनकार्ड पाउनु आकास र पाताल जत्तिकै फरक विषयहरु हुन । तर, लेख्नेहरु लेखिदिन्छन् म अमेरिका गएर पनि नेपाल फर्किएर आए। जबकी त्यसरी फर्कनेहरु अमेरिकी अध्यागमनबाट तीन देखि छ महिने अवधिको अमेरिकी बसाइको सुविधा पाउनेहरु हुन्छन्।
यदि अमेरिकाको ग्रिनकार्ड पाएर पनि कोही नेपाली ६ महिनाभन्दा बढी अमेरिका नबसी स्वदेश फर्कन चाहन्छ भने उसको राष्ट्रप्रेमलाई मेरो सलाम छ । अन्यथा अमेरिका पुगेर देखाउने राष्ट्रप्रेम सवै मिथ्याकुरा हुन्।
टिपीएस भर्नेदेखि असाइलम गर्नेहरु नराम्रा भनेर खोक्रो राष्ट्रप्रेम देखाउनेहरु आफूले अमेरीकामा कानुनी वसाइका लागि कुनै कदम नचालेको देखेकै छन् । यस्ता सबै खालका देखका आजकल अमेरिकालाई गाली गर्नु र आफूलाई कडा राष्ट्रभक्त भनेर चिनाइएका छन् ।
हरेक व्यक्तिका आफ्ना रुची, चाहना, शौख, विचार, दर्शन आदि फरक हुन्छन्। एकलाई मन परेको ठाउँ वा वस्तु वा विचार दर्शन सवैलाई मनपर्छ वा पर्नुपर्छ भन्ने हुदैन । बहुलवादी समाजमा सवैलाई आफ्नो रुची अनुसार राम्रो नराम्रो र असल खरावको व्याख्या गर्ने अधिकार हुन्छ। तर अधिकारको नाममा कसैले कुनै समुदायको बारेमा गरेको सांघुरो बुझाईलाई सामान्यीकरण गर्छ भने त्यो आम चासोको विषय बनिदिन्छ।
हो, अमेरिका डलर कमाएर पेनीमा जीन्दगी बाच्नेहरुको शहर हो। हो, अमेरिका श्रम गर्नेहरुको लागि मात्र सपनाको सहर हो। रूपियाँ कमाएर हजारमा जीन्दगी चलाउन अभ्यस्त भएकाहरुका लागि यहाको दैनिक सहज छैन।
बैधिनकरुपमा अमेरीका वस्न पाउनु सजिलो छैन। पछिल्लो चोरी अमेरीकी सरकारले जारी नेपालीका जनाममा जारी गरेको टीपिएस सुविधा पाइहाल्न सजिलो छैन। पाइहालेपनि नेपाल र अमेरिका सहजै ओहरदोहर गर्न पाइन्छ भन्ने भ्रम पनि आम पाठकलाई नपरोस। यसका लागि विशेष सर्त वा आधारहरु आवश्यक छन् । जस्तो, नेपालमा भुकम्प प्रभावित भनिएका जिल्लाको वासिन्दा भएको, घरपरिवार भूकम्प पीडित भएको, परिवारको सदस्य वा भौतिक सम्पत्ति क्षति भएको, परिवारको सदस्य घाइते भएको आदिको सरकारी प्रमाणिकरणयुक्त कागजात पेश गरेपछि मात्र युएससिआइएसका अधिकारीहरुले त्यसको अन्तिम निर्णय दिनसक्छन्।
टेक्सास र न्युयोर्कका अग्ला कंक्रिटका महल र चिल्ला सडक अनि गाडीहरु मात्र अमेरिका हैन । अमेरिकाको आयतन त्यो भन्दा फराकिलो छ । प्रकृतिका अनुपम छटाहरु संसारभरी नै पाइन्छन । संसारमा नम्बर एक पर्यटक गन्तव्य मानिने प्रकृतिका अनुपम छटाहरु अमेरिकामा पनि उपलब्ध छन् । फरक यत्ति हो सगरमाथा र राराताला, लुम्बिनी र माछापुच्छ्रेनै खोज्ने हो भने चाहि नेपालभन्दा बाहिर पाइदैन। जसरी अमेरिकाको नियाग्राफल्स, डिजर्ट आयरल्याण्ड, ब्ल्याक हिल आदि नेपालमा पाइदैन।
सर्वोच्च अदालतले भ्रष्टचारी ठहराई जेल सजाय भुक्तानगरी कारागारमुक्त भएका भ्रष्टहरुको स्वागतमा दश किलोको फूलको माला र अविर लिएर लामबद्धहुने मेरो देश जहा कसैले रातारात करोडौ कमाएको सम्पत्तिको स्रोत खुल्नु पर्दैन। त्यस्ता देशका बुद्धिजीबीलाई डलर कमाएर पेनी र डायममा जीवन विताउने मितव्ययीहरुको जीन्दगी टिठ लाग्दो नै छ।
क्याम्पसे जीवनमा एक प्राध्यापकले उखान सुनाएका थिए, कुनैदिन तत्कालिन राजा श्री ५ महेन्द्रले दरबारका एक उच्च अधिकारीलाई देशका केही कारागारहरुमा त्याहाका कैदीबन्दीका अवस्थाको जानकारी लिन स्थलगत भ्रमणमा पठाए। अधिकांश कारागारका कैदीहरुले ती अधिकारी समक्ष पेटभेरी खान नपाएको गुनासो गरे । उनले जवाफ फर्काए, ‘तिमीहरुलाई दुध र भात पनि पेटभरी खान दिदैनन्।’
यसको मतलब हुन्छ ती दरबारीया अधिकारीको नजरमा दुध र भात सवैभन्दा गएको खाना हो त्यो त कम्तीमा कैदीले पाउनुपर्ने।
माथिको किस्सा त केवल राजतन्त्रलाई व्यंग्य गर्न बनाइएको हुनसक्छ । तर आज पनि केही स्वघोषित बुद्धिजिबीहरु बडो सजिलो शब्दमा विदेशीएकाहरुलाई उपदेश दिइरहेका हुन्छन ‘विदेशीएकाहरुले पनि नेपाल फर्किएर आफ्नै लगानीमा केही गर्न सक्छन’ आदि आदि । गुन्द्रुक र ढिडो भरपेट खान नपाउनेलाई दरबारिया अधिकारीले दुध र भात पनि पेटभरी खान पाउदैनौ र भनी अचम्म मानेझै हामी अहिले पनि पेटभरी खान र, लगाउनका लागि संघर्ष गरीरहेका छौँ र, पनि अमेरीकाजस्तो शक्तिशाली सम्पन्न मुलुकलाई टीठलाग्दा अक्षहरुले धोच्न छाड्दैनौ ।
सोलुका अक्करे भीरहरुमा पर्यटकको हिमाली भरिया बनेर जीवनका आखिरी दिनहरुमा समेत हाडछाला घोटीरहेका शेर्पादाइहरु, नेपालगञ्जको ४५ डिग्री तापक्रममा बाच्नका खातिर रिक्सा कुदाइरहेका मजदुरहरु, कर्णालीका अप्ठेरा पहरामा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत केही किलो चामलका लागि पाखुरा बजारीरहेका नेपालीहरुको दुःख भन्दा अमेरिकाको वालमार्ट वा सेभेन इलाभेन अथवा ग्यासस्टेशनमा बसेर काम गरीरहेकाहरुको जीवन पक्कै दर्दनाक होइन।
नेपालबाट अमेरिका सेमिनार, गोष्ठि वा भ्रमणमा आएको जुनसुकै नेपालीका लागि यहाबाट सिकेर फर्कन लायक थुप्रै सकारात्मक पक्षहरु छन् । तर कुनै दाताको सहयोगमा अमेरिका छिरेको अधिकांस नेपाली किन यहा के नराम्रो छ भनेर मात्र खोजी हिड्छ? अमेरिकाको सार्वजनिक यातायातमा जतिसुकै भीड भए पनि छेवैमा उभिएकी भडकिलो पहिरनमा सजिएकी कुनै युवतीलाई कसैले छुनेसम्म हिम्मत गर्दैन।
रातको १२ बजे पनि एक युवतीले अमेरिकाको सडकमा आत्मासम्मानसहित सुरक्षित भएर हिड्ने साहस गर्छन्। किन नेपालको सार्वजनिक यातायात र सडक महिलाका लागि आत्मासम्मानसहित हिडने बस्ने थलो हुन सकेन्?
अमेरिकामा सडकमा होस वा पसलमा मानिसहरु किन आफ्नो सेवा लिनका लागि लाइनमा बसेर पालो कुर्छन ? त्यो नेपाला किन हुन सकेन ? यी र यस्ता सहजै सिक्न सकिने सकारात्मक पक्ष समेत ध्यान नदिई नेपालबाट अमेरिका घुम्न आएका बुद्धिजिबीहरु किन जबरजस्त यहाँको नराम्रो पक्षको मात्र उछितो काट्छन्?
आफू नसके छोराछोरी मात्र भए पनि जुनसुकै सर्तमा अमेरिका छिरे हुन्थ्यो भन्ने कामना गर्ने, कुनै व्यापार गरे अमेरिकी बजार नै ताक्ने, सेमिनार गोष्ठिका लागि देश रोज्नुपरे अमेरिका नै रोज्ने र पनि अमरिकालाई सराप्न नछाडने दोगला प्रवृति केवल मौसमी आलोचना मात्र हो।
कुनै समय थियो नेपालका केही कथित कुलिन वर्ग अमेरिका युरोपलाई आफ्नो पुर्खौली विरासत सम्झन्थे । आफ्ना छोराछोरी अमेरिका युरोप भएको वा गएको विषय उनीहरुको प्रतिष्ठासँग जोडिन्थ्यो । तर, अव त्यो दिन बाँकी रहेन । अमेरिकाले डिभी कार्यक्रम अन्तर्गत नेपालीहरु अमेरिका भित्राउन थालेसँगै थुप्रै निम्नस्तरका नेपाली परिवारको पनि अमेरिकामा पहुच बढेको छ।
फलतः यसले नेपालका कयौ निम्नस्तरका परिवारको जीवनमा कायपलट ल्याएको छ। लेवर काम गरेरै सहि नेपालमा रहेका आफन्तको जीवन स्तर परिवर्तन गर्न सकेका छन् । नेपालमा टिनको छानो भएको घर बनाएका छन् । आफ्ना सन्तानलाई राम्रो स्कुलमा पढाउन सकेका छन् । मासुभात खान दशै कुर्नुपर्ने दुर्दिनहरुबाट मुक्ति पाएका छन्।
आफूले गर्न पाए सबै ठीक नत्र बेठिक भन्ने जड मानसिकताले अन्तत हामीलाई कुनै गन्तब्यमा पुर्याउँदैन। सार्वजनिक रुपमा लेखिने लेखहरु केवल लेख्नका लागि मात्र हैन त्यो सँगै हाम्रौ सामाजिक दायित्व पनि हुन्छ । हामीले लेखेका विचारहरु पढेकै आधारमा कतिपय पाठकले आफ्नो धारणा बनाएका हुन्छन । तसर्थ, आफ्ना लेख विचारमा सामाजिक दायित्वलाई पनि नभूलौं।
सेतोपाटि बाट
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment