काठमाडौं, श्रावण ८ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दको प्रभाव शुक्रबार देशभर आंशिक रुपमा पर्यो । काठमाडौंसहित देशका प्रमुख सहरहरुमा केही सवारी–साधन चले ।
काठमाडौं उपत्यकामा आंशिक सवारी–साधन मात्र सञ्चालन भए । विभिन्न जिल्लाबाट उपत्यका भित्रने बस चले पनि काठमाडौंबाट बाहिरिने गाडी भने चल्न सकेनन् । मुख्य बजार बन्द रहे भने सहरका भित्री भागका पसल आंशिक रुपमा खुले ।
बन्द आह्वानकर्ताहरुले बन्दमा सवारी–साधन चलाएको भन्दै काठमाडौंको जडिबुटीमा एउटा बस तथा भक्तपुरको राधेराधेमा एउटा स्कार्पियोमा आगजनी गरेका छन् ।
यस्तै, काठमाडौंको नयाँबजारमा बा१ज २३०१ नक्बरको ट्याक्सी पनि बन्दकर्ताले जलाए । गुडिरहेको ट्याक्सी रोकेर चालकलाई ओर्लिन पनि नदिइ आगो लगाएको प्रहरीले जनाएको छ । तर, चालक तत्काल ओर्लिन सफल भएकाले मानवीय क्षति हुन पाएन ।
यसैगरी, बन्दकर्ताले शुक्रबार भक्तपुरको लोकन्थली र सानोठिमीमा पनि भ्यानमा तोडफोड गरेका छन् । काठमाडौंको कलंकी, बालाजुलगायतका स्थानमा माओवादीका कार्यकर्ताले प्रदर्शन गरे । जबर्जस्ती बन्द गराउँदै हिँड्ने नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले ठाउँ–ठाउँबाट पक्राउ गरेको छ ।
संविधानको प्रारम्भिक मस्यौदा तथा भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा नेकपा माओवादीले बन्द आह्वान गरेको हो । नेकपा माओवादीले साँझ ६ बजेपछि बन्द फिर्ता लिने जनाएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment