Tuesday, July 28, 2015

मूल्य घट्दा समेत घटाएनन् ब्यापारीले सुनको भाउ


काठमाडौं, साउन १२

नेपाली बजारमा सुनको माग बढेपछि अन्तर्राष्ट्रिय बजारअनुसार सुनको भाउ घटाउन व्यवसायीहरुले अटेर गरेका छन् । हाल सुनको मागअनुसार बजारले धान्न नसक्ने स्थिति आएकाले बजार नै अस्तव्यस्त हुन सक्ने भएकाले नघटाएको व्यवसायीहरुले बताए ।
 
नेपाल सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बजारमा भएको मागअनुसार सुन आउन नसकेकोले सुन बजार केही अस्तव्यस्त भएको बताए। सुनको बजार व्यवस्थापन हुन अझै एक हप्ता लाग्ने उनले बताए।
 
अन्तर्राष्ट्रिय बजारअनुसार मंगलवार सुन तोलामा डेढ सय रुपैयाँले घट्नुपर्ने भए पनि सोअनुसार नघटेको शाक्यले जानकारी दिए। सुनको मूल्य बढ्दा भने उनीहरुले बढाइहाल्ने गर्थे ।
 
सुन अघिल्लो दिनकै मूल्यमा कारोवार भइरहेको छ। प्रतितोला ४८ हजार रुपैयाँ सुनको मूल्य तोकिएको छ भने चाँदीको मूल्य प्रतितोला ६ सय ६५ रुपैयाँ तोकिएको छ।
३ दिनदेखि सुनको मूल्य स्थिर रहेको छ। गत हप्ता नेपाली बजारमा सुन चार वर्षयताकै सस्तो भएको थियो।
 
४७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आइतवार ८ सय रुपैयाँले बढेको थियो।अमेरिकी बैंकले व्याजदर बढाउन थालेपछि सुनको मूल्य घटेको थियो। व्याजदर बढ्दै गएपछि लगानीकर्ताहरु डलरतिर आकर्षित हुँदा सुनको मूल्यमा प्रभाव परेको हो।
 
त्यस्तै ग्रीस यूरोजोनबाट बाहिरिने संभावना बढ्दै जानु र यूरोजोनको ऋण व्यवस्थापन सहज हुन सक्ने स्थिति भएपछि त्यहाँका सेयर बजारहरुले गति लिन थालेका छन्। यसले गर्दा पनि सुनको मूल्यमा प्रभाव परेको विश्लेषकहरु बताउँछन्।

0 comments:

Post a Comment