Thursday, July 9, 2015

दिलिप पनि उड्ने भए अमेरिका


कलाकारहरुको अमेरिका मोह अझै भंग भएको छैन्। केही कलाकार अमेरिका बसाईबाट नेपाल फर्केका छन् भने केही जाने तयारीमा छन्। अमेरिका बसाई सर्ने फिल्मकर्मीको पछिल्लो सूचिमा अभिनेता दिलिप रायमाझी थपिएका छन्। उनले सपरिवार अमेरिका जाने भिषा पाएका छन्। उनले ग्रिन कार्डका लागि नेपालबाट नै आवेदन दिएका थिए।  सेतोपाटीसँग कुरा गर्दै दिलिपले आफूले भिषा पाएको स्वीकार गरे।
दिलिपले ग्रिनकार्ड भने अमेरिका पुगेर केही प्रक्रिया पुर्‍याएपछि मात्र पाउनेछन्। दिलिपले आफूले अमेरिकाको भिषा पाएपनि त्यसलाई पलायन हुने लागेको भन्ने आशयले नबुझिदिन आग्रह गरे। उनले भने, 'म अमेरिकामा हराउँन लागेको होइन। म नेपाली फिल्म क्षेत्रमै रहिरहनेछु।' उनले अमेरिकाको भिषा नेपाली फिल्मको बजार प्रबर्दनको लागि सजिलो हुने भएकाले लिएको जनाए। दिलिपका अनुसार संसारभर जानका लागि भिषाले सजिलो पार्ने हुँदा भिषा लिएको जिकिर गरे।
कुनै समय नेपाली फिल्ममा दिलिपको राम्रै स्थान थियो। उनी कोरस डान्सर हुँदै फिल्ममा अभिनेता बनेका हुन्। उनले आदिकवि भानुभक्तको बायोपिक फिल्म 'भानुभक्त'बाट अभिनय यात्रा सुरु गरेका थिए। कुशल नृत्य गर्ने अभिनेताका रुपमा चिनिएका दिलिपलाई असली सफलता भने तुलसी घिमिरेको 'दर्पण छाँया' फिल्मले दिलाएको थियो। उक्त फिल्मले उनलाई नेपाली फिल्ममा स्थापित गराउने काम गरेको थियो।
पछिल्लो समय नेपाली फिल्ममा खासै सक्रिय नरहेका दिलिप आफ्नो सफल फिल्म 'दर्पण छाँया'को सिक्वलमा काम गर्ने खबरले फेरी चर्चामा आएका छन्।

0 comments:

Post a Comment