Saturday, July 25, 2015

कन्काईमा पानीमुनी पैसा खोजेर परिवारको गुजारा


झापा शिवसताक्षी ९ माईधामका केहि बृद्धको दिन चर्या साधरण मानिसको भन्दा अली फरक छ। अरुको जतिनै समय श्रम गर्छन् उतिनै कमाउछन् पनि, तर उनीहरुको श्रम गराई र अन्य मानिसको श्रम गराईमा बेमेल छ। उनीहरु भन्छन्, ‘अरूले जस्तो गर्‍यो भने त कहाँ पैसा कमाउन सकिन्छ?’ स्थानीय शेरबहादुर शेर्माले कन्काई नदिको पानीमा डुबेर नेपाली रूपैयाँका सिक्का संकलन गर्न थालेको ५ वर्ष भयो। सेतोपाटी संवाददाता त्यहाँ पुग्दा उनी ठूलो चुम्बकको सहायताले पानी मुनिको बालुवामा झरेका सिक्का खोजिरहेका थिए। घुडा घुडा पानीमा उनी सहजै सिक्का खोज्थे। एक अञ्जुली बालुवा पानीमाथि निकालेर कतै पैसापो निस्कीयो कि भन्दै हेर्थे। नभन्दै एक अञ्जुली बालुवा निकाल्दा उनलाई ५ रुपैयाँको सिक्का हात लाग्यो। उनी भन्छन्, ‘सरदर १० अञ्जुली बालुवामा कमसेकम ३ देखि ५ रुपैयाँसम्म भेटिन्छ।’ कुनै कुनै बेला त एकै अंजुली बालुवामा १० देखि १५ रुपैयाँसम्म भटिने गरेको उनले सुनाए। शेर्मा दिनहुँ कन्काई नदिमा पानी बगेकै ठाउँमा भेटिन्छन्। उनी भन्छन्, ‘बाढी नआएका बेला दिनहुँ आउँछु यसरी नै पैसा खोज्छु।’ नदिमा खोजेर भेटाएका पैसाले उनका ४ सदस्य भएको परिवारको गुजारा राम्रैसँग चलेको छ। ‘साताको शनिबार र मंगलबार मात्र अढाई तीन सय माथी हुन्छ, अरु बार दुई सय जति भेला पार्छु,’ उनले भने। उनी चुम्बकको सहायताले यतिका पैसा टिप्छन्। ‘सिल्वर र गिल्टी बाहेकका सिक्का चुम्बकले तानेरै यतिका पैसा भेला भएका हुन्,’ उनले भने। नाता नातिनाले चुम्बकले पैसा तान्छभन्दा शुरुमा उनले पत्याएका थिएनन्। ‘केटा केटिले झुट बोले होला भन्ठान्थेँ साच्चिकै चुम्वकले पैसा तान्दोरहेछ,’ उनले भने, ‘चुम्बकीय शक्तिले मेरो आम्दानी बढाएको छ।’ बिहान चिया पिएर पानीमा रुझ्दै नदि भित्रका पैसा भेला पार्ने शेर्माको दिनचर्या बिहानको खानापछि पनि उस्तै हो। नदिमा फेला पारेका सिक्कालाई उनले मुखको थैलामा राख्ने गरेका छन्। ‘भेटिए पिच्छे बाहिर निस्कने कुरा भएन मुखमा चेप्यो अलि धेरै भएपछि बाहिर निस्केर झोलामा लगाउने गरेको छु।’ साँझ घर फर्किदा उनका साथमा सिक्कै सिक्का हुन्छ। कहिले काँहि त सुन चाँदीका गर गहना पनि भेटिन्छ। उनी भन्छन्, ‘पोहोर त मैले सुनको औठि पनि फेला पारेको थिएँ।’ नदिमा बालुवा चालेर फेला पारेका पैसाले शेर्माले घरको चुल्होको खर्चमात्र धानेका छैनन् नाति नातिनालाई खाजा पेन्सील पनि किनीदिने गरेका छन्। उनका अनुसार परिवारको गुजारा चलाउन मलाई यो धन्दाले असजिलो बनाएको छैन। यसका अलवा नदिमा बाढी उर्लेका बेला शेर्मा दाउरा संकलन गर्छन्। उनले संकलन गरेका दाउराले शव जलाउने गरिएको छ। उनी भन्छन, ‘शव जलाउने दाउरा बेच्दै पनि ४५ सय माथि कमाई हुने गरेको छ। जोखिम केमा छैन र उनी प्रतिप्रश्न गर्दे भन्छन, ‘मेरो मात्र होइन सवै श्रमिक जोखिममै छन्। मलाई पानीले बगाउला भन्ने डर छ, बिजुलीमा काम गर्ने श्रमीकलाई पनि त करेन्ट लाग्ला भन्ने चिन्ता त छ नि हैन र?’ पूर्व पश्चिम राजमार्गको कन्काई पुलमाथिबाट बिभीन्न आस्था र मनोकांक्षाले कन्काई माईमा पैसा चढाउने चलन छ। धार्मीक आस्थाले सर्वसाधरणले चढाएका पैसानै शेर्माको आम्दानीको श्रोत बनेको हो। ‘कुनै कुनै बेला त टाउकैमा लाग्ने गरी पैसा माथिबाट बर्सिन्छ।’ यातायातका साधनमा यात्रा गर्ने र पैदल यात्रा गर्ने सर्वसाधरण ले बिभिन्न आस्थाले कन्काई माईमा पैसा चढाउने गरेका छन्। शेर्मा जस्तै कन्काई माइ नदिको पानीमुनि बालुवामा पैसा खोज्नेको संख्या दर्जनौ छ। ७ सय ७ मिटर लामो पुलमुनी सनिबार र मंगलबार पैसा टिप्नेको घुईँचो नै लाग्ने गरेको स्थानीयले बताए। सेर्मासँगै पानी मुनि पैसा खोज्ने कुलबहादुर राई भन्छन्, ‘शनिबार र मंगलबार त १२ देखि १५ जनासम्म हुन्छौं अन्यबार भने ५/६ जना हुन्छौ।’ राईका अनुसार साना केटा केटि पनि पानिमुनिको पैसा टिप्न बल्छि लिएर आउँछन्। ‘लामो लौरोमा फलामे काँटी र चुम्बक बाधिएको हुन्छ,’ राईले भने, ‘पोखरीमा माछा मारेजस्तै नदि भित्र पस्न नसक्नेले बल्छी थापेर सिक्का पार्ने गरेका छन।’ नदिको पैसा टिप्ने यो जुक्तिले कन्काई नदिमा शव लिएर आउने मलामीलाई अचम्बित बनाएको छ। झिलझिलेका जगत उप्रेतिले भने, ‘नदिका पैसा टिप्ने यो जुक्ति सामान्य मानिसले पत्याउनै सक्दैन।’ तर चुम्बकको यो शक्तिले नदि भित्रका सिक्का टिपेर परिवारको गुजारा चलेको सुनेपछि उप्रेतिले खेर गएको धनराशिलाई सामान्य परिवारले सदुपयोग गरेको बताए।

0 comments:

Post a Comment