Friday, July 24, 2015

२ सय २ जना बन्दकर्ता पक्राउ सवारी साधन तोडफोड तथा आगजनी


काठमाडौं, श्रावण ८ - नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दमा २० वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरिएको छ । शुक्रबार बन्दकर्ताहरुले देशका विभिन्न स्थानमा २० वटा सवारी साधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएका हुन् । तोडफोड तथा आगजनीमा संलग्न रहेको भन्दै प्रहरीले देशका विभिन्न ठाउँबाट २ सय २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ सय ९७ पुरुष र ५ जना महिला रहेका छन् । प्रहरीका अनुसार ४ जनालाई छानविन गरेर रिहा गरिएको छ । बन्दकर्ताले काठमाडौं बालाजुमा ना३ख ४४३५ नम्बरको नेपाल दुग्ध विकास संस्थानको गाडी, कमलादीमा बा१ज ४३६७ नम्बरको गाडी, नेपालटारमा बा१०च ६६४०, बसुन्धारामा बा५ख ८२५१, बौद्धमा बा१ज ५२५५ नम्वरको सवारीसाधन तोडफोड गरेका छन् । यसैगरी ललितपुरको पुल्चोकमा बा१ज ५८३६, बा१ज ७३२२ र प्रयागपोखरीमा बा३ ख ११०८ नम्बरको गाडीमा तोडफोड गरी क्षति पुर्‍याएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको भरतपुर उपमहानगरपालिका–११ मा ना३ख ७५११ र बा१ख ६०८५ नम्बरको ट्रकमा ढुंगा प्रहार गरी सिसा फुटाएका छन् । बन्दकर्ताले काभ्रेको भुम्लुटार–६ स्थित काभ्रे र सिन्धुपाल्चोकको सिमाना अरनिको राजमार्गमा बा१२च ९५०२ नम्बरको मारुती भ्यान तोडफोड गरी क्षति पुर्‍याएका छन् । धादिङको नलाङमा पनि बन्दकर्ताले बा१०प १८४५ र सुगुरेखोलामा ना४ख ३६२२ नम्बरको सवारीसाधनमा आगजनी गरी क्षति पुर्‍याएका छन् । प्रहरीले हेटौडा उपमहानगरपालिकामा बा३ख १९२५ नम्बरको सवारीसाधन तोडफोड गरी क्षति पुर्‍याएका छन् भने रुपन्देही खेरहनीमा बा४ख १९० नम्वरको सवारी साधन तोडफोड गरेका जनाएको छ ।नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित स्नेह होटल अगाडि सिमान्त ईन्टर कलेजको युपि४०टि ०७६३ नम्वरको म्याजिक भ्यान विद्यार्थी लिन आउने क्रममा बन्दकर्ताहरु एक्कासी भ्यानमा आगो लगाउँदा जलेर क्षति भएको छ भने कुसुममा ना५ ख ५०१४ नम्बरको ट्रकमा आगजनी गरी क्षति पुर्‍याएका छन् । नेपालगन्ज बसपार्कमा भे१ख ८०९र भे.१ ख ८५८ नम्बरको बसमा अगाजनी गरेर क्षति पुर्‍याएका छन् ।बन्दकै क्रममा बन्दकर्ताले कञ्चनपुरको भिमदत्त नगरपालिका–४ चमनचोकमा म१ह ४६ नम्बरको टेम्पोमा ढुंगा प्रहार गरी अगाडिको सिसामा क्षति पुर्‍याएका छन् ।

0 comments:

Post a Comment