Thursday, July 23, 2015

मूर्ति चोरेर बेच्न गएका चार नेपाली भारतमा पक्राउ, अर्का एकजनाको मृत्यु


बर्दिया, ७ साउन । भारततर्फको सीमावर्ती क्षेत्र बहराइच जिल्लामा चारजना नेपाली दुईवटा ढुङ्गाका मूर्तिसहित पक्राउ परेका छन् भने अर्का एकजनाको मृत्यु भएको छ । मुत्यु हुनेमा कालीकोट जिल्ला चिलखाय गाविसका २७ वर्षीय खड्कबहादुर शाही रहेका छन् । सोही स्थानका लोकबहादुर शाही, टेकबहादुर शाही, तीर्थबहादुर शाही र अनिल शाहीलाई भारतीय सीमा सशस्त्र प्रहरी बल (एसएसबी) ले पक्राउ गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुुर कुँवरले जानकारी दिनुभएको छ । खड्कबहादुरको मृत्यु कसरी भएको हो भन्ने खुल्न सकेको छैन । भारतको सीमावर्ती क्षेत्र मृगिया मजगाउँमा पक्राउ परेका उनीहरुलाई एसएसबीले बहराइचको मोतीपुर थानामा बुझाएको थाहा भएको छ । अहिले उनीहरुलाई मोतीपुर थानाको हिरासतमा राखिएको एसएसबीका प्रहरी उपरीक्षक प्रदीपकुमार पालले जानकारी दिनुभएको छ । गत असार २७ गते कालीकोट जिल्लाको पाखा गाविस वडा नं ८ र ९ को सिमानामा पर्ने कालिकादेवी मन्दिरबाट तीनवटा ढुङ्गाका मूर्ति चोरेर आफूहरु भागेको बयान उनीहरुले दिएको बुझिएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताउनुभएको छ । प्रजिअ कुँवरका अनुसार घटनाको अनुसन्धान गर्न प्रहरी उपरीक्षक गोविन्दराम परियारको नेतृत्वमा एक टोली आजै बहराइच पठाइएको छ । रासस

0 comments:

Post a Comment