Thursday, July 9, 2015

एयरपोर्टबाटै सुरू हुन्छ डीभी पर्नेको व्यथा


हिजो फेसबुकमा साथीहरुको अमेरिकाको डिभी चिट्ठा परेन भन्दै गुनासोले भरिएका स्टाटसहरु पढेपछि केही कुरा लेख्न मन लाग्यो । जब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै,  सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो । जब कुनै कुरा आँखाले प्रत्यक्ष देखिन्छ, तब सुनेका सबै कुरा सत्य नलाग्न सक्छ। कुनै मान्छेले केही कुरा देख्छ आफूले प्रत्यक्ष भोग्छ । तर, अरुको अगाडि त्यो दुःखलाई लुकाएर खोक्रो आडम्बर छाँट्छ भने त्यो सरासर गलत हो । जुन ब्यबहार डिभी परेर अमेरिका आउने ९० प्रतिशत नेपालीहरुले नेपालमा बस्ने नेपालीहरुलाई देखाइरहेका हुन्छन । डिभी चिट्ठा परेर अमेरिका आउनेहरुको पीडा एयरपोर्टबाट नै शुरुवात हुन्छ, जुन मैले प्रत्यक्ष आँखाले देखेको छु । म अमेरिका आउँदा नेपाल एयरपोर्टमा आफूसँगै अमेरिका आउन लागेको एउटा परिबार नै भेटें, मैले । जुन हामी दुबैको लागि खुसीको कुरा थियो । किनकी हामी पहिलोपल्ट अमेरिका आउदै थियौं र बाटोभरी गफ गर्दै जाने साथी पाएको थियौं, हामीले । २ जना श्रीमान-श्रीमती र उहाँहरुको १ बर्षको सानो छोरी अनि त्यो सानो नानीसँग प्लेन भरी खेल्दै रमाउदै गरेको त्यो लामो यात्रा । मेरो लागि साँच्चिकै रोमान्चित बन्यो । हामी सबैजना उत्साहित देखिन्थ्यौं, किनकी हामी धेरैको सपनाको देश अमेरिका जाँदै थियौं । हाम्रो प्लेन जब जेएफके एयरपोर्ट न्यूयोर्कमा ल्यान्ड हुने-हुने समय हुन लाग्यो तब झ्यालबाट तल हेर्दा देखिने न्यूयोर्क सिटीको त्यो दृश्यले हामीलाई झन धेरै उत्सुक बनाएको थियो ।
डिभी चिट्ठा परेर अमेरिका छिर्नेहरुको लागि अलि लामो प्रोसेस हुँदोरहेछ एयरपोर्टमा। त्यसैले सँगै आएको साथीहरुलाई आउँदै गर्नुस् हैं भनेर म जतिसक्दो चाडो त्यहाँबाट बाहिर निस्किन आतुर थिएँ । कारण- बिबाह गरेको १ महिनामा अमेरिका फर्किएका मेरो श्रीमानलाई लगभग ३ बर्षपछि भेट्दै थिएँ, म ।
मेरो लागि त्यसभित्रको १ मिनेट पनि धेरै लाग्न थालिसकेको थियो । जब गेटमा पुगेर श्रीमान भेटें, मेरो खुसीको सीमै रहेन । एकछिन आफ्नै संसारमा हराएँ, म । केहीछिन पछि झल्यास्स भएँ, साथीहरु कता गए होलान भनेर ।
उहाँहरु पनि यता उता हेर्दै मलाई नै खोजिरहनु भएको रहेछ । श्रीमानलाई संगै आएको साथीहरु चिनाएँ । र भनेँ- ‘उहांहरु पनि नयां हुनुहुन्छ, त्यसैले उहाँहरुलाई पनि ब्यबस्थित नगरी हामी हिड्न मिल्दैन ।’
‘कोही आएको छ तपाईहरुलाई लिन ?’ उहाँले प्रश्न गर्नुभयो।
साथीहरुको त्यो उत्सुकता र हाँसो भरिएको अनुहार अब डर र हतासमा परिणत भइसकेको थियो । नयाँ ठाउँ र नयाँ मान्छेहरु देख्दा त्यस्तो हुनु स्वभाबिक हो ।
त्यही पनि उनले भने- ‘एकजना आफन्त पर्ने दाई आउँछु भन्नु भएको थियो ।’
कुन ठाउँबाट ? फलानो ठाउँ ।
ओहो ! त्यो ठाउँ त टाढा छ यहाँबाट ३ घण्टा ड्राइभ गर्नुपर्छ ।
फोन नम्बर छ, तपाईहरुसँग ?
‘छ  । इमेलमा छ ।’- उनले जवाफ दिए ।
उहाँले फोन दिनुभयो ।
उनले इमेल चेक गरे  अनि नम्बर दिए। मेरो श्रीमानले आफै फोन गर्दिनुभयो ।
उताबाट ती दाईको जवाफ आयो-  ‘ए आइपुग्यौ  तिमीहरु ? ल बस्दै गर, अब म हिड्छु । लगभग साँझ परिसकेको थियो । हामीलाई पनि अब ढुक्क लाग्यो त्यसैले उनीहरुसँग बिदा भएर आफ्नो घरतिर लाग्यौं ।
घर आएर पनि र लामो समयपछि श्रीमान भेटे पनि मेरो मन छटपटाई रहेको थियो । फेब्रुअरी महिनाको त्यो चिसो अनि बाहिर हेर्दा देखिने सेताम्मे हिउँ ।मेरो मनमा त्यही कुरा खेलिरहेको थियो । ओहो ! त्यो दाई कतिबेला लिन आयो होला, कतै आएन कि बा ! त्यो सानी नानीलाई कति जाड़ो भयो होला ? हरे ! सँगै जाउँ भनेर लिएर आउनुपर्ने रहेछ बरु यस्तै यस्तै।
त्यसको लगभग १ महिनापछि उहाँहरुसँग सम्पर्क भयो मेरो, फोन मार्फत । मैले त्यो बेला के के भयो सबै कुरा सोधेँ ।
उनको जवाफ थियो- ‘केहि समयपछि आउँछु भनेको त्यो दाई लगभग रातिको ११ बजेतिर आउनुभयो । एयरपोर्ट बाहिरको त्यो चिसो ओहो ! रुनु न हाँस्नु भएँ, नेपाललाई धेरै सम्झिए कहाँ आएछु यस्तो नर्कमा जस्तो महसुस भयो ! मेरो दुःख एयरपोर्टबाट नै शुरू भयो, जे सुनिन्छ, फोटो भिडियोमा जे देखिन्छ त्यस्को ठ्याक्कै उल्टो रहेछ अमेरिका !  किन डीभी परेछ मलाई नै जस्तो लाग्छ, नेपालको सबै कुरा सम्झिँदा त अहिले नै फर्किहालुँ जस्तो लाग्छ नि ! के गर्नु ? आइयो फसिहालियो अब न एता न उता बस्नै पर्यो नि ।
यसबाट मैले के बुझेँ भने एयरपोर्टबाट नै शुरू हुँदोरहेछ नेपालीको दुःख । यो त एउटा सानो उदाहरण मात्रै हो, यस्ता धेरै कथा ब्यथाहरु छन् मैले आँखाले देखेका र नजिकका मान्छेहरुबाट सुनेका ।
अमेरिका आएपछि यहाँ बस्ने नेपालीहरुसंग सम्पर्क हुन थाल्यो अनि सुनिन थाले उनीहरुको कथा, नेपालमा हुँदा सानै देखि देखेको चिनेको दाई हुनु हुन्थ्यो फेसबुक बाट नम्बर लिएँ र सम्पर्क गरेँ ।
दाई के छ खबर रु निराश् स्वरमा दाईले भने – ‘के हुनु नानी बेहाल छ नि ।’
‘किन ? के भयो र त्यस्तो ?’ मैले फेरी प्रश्न गरेँ ।
दाईले आफ्नो वास्तबिक कथा बेलीबिस्तर लगाए- बिबाह गरेको १ बर्ष भएको थियो ।

0 comments:

Post a Comment