Tuesday, September 15, 2015

राष्ट्रपतिले प्रधानमन्त्रीसँग सोधे, ‘तराईको माग कसरी सम्बोधन हुन्छ ?’


भाद्र २९, २०७२- राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री सुशील कोइरालासँग संविधान बनेपछि तराईंलगायत विभिन्न भागमा भइरहेको आन्दोलनको माग कसरी सम्बोधन हुन्छ बिषयमा जिज्ञासा राखेका छन् । भेटवार्ताको लागि केहीबेर अघि शितल निवास पुगेका प्रधानमन्त्री कोइरालासमक्ष राष्ट्रपति यादवले यस्तो जिज्ञासा राखेका हुन् ।
स्रोतका अनुसार राष्ट्रपतिले देशको विभिन्न भागमा भइरहेको आन्दोलन र शान्ति सुरक्षाबारे पनि चासो राखेका थिए । राष्ट्रपति यादवले गत भदौं २५ गते संविधानसभालाई पत्र पठाएर सहमतिमा संविधान जारी गर्न आग्रह गरेका थिए ।

भेटमा प्रधानमन्त्रीले संविधानसभामा भइरहेको प्रक्रिया र संविधान जारी मितिबारेमा जानकारी गराएका थिए । राष्ट्रपतिका कानुनी सल्लाहकार ललितबहादुर बस्नेतका अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीसँग संविधान जारी गर्नको लागि सभाध्यक्ष सुबास नेम्वाङले आफूलाई निमन्त्रणा गरेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री कोइराला शितल निवास पुग्नु अघि सभाध्यक्ष सुबास नेम्वाङ संविधानसभा पुगेर राष्ट्रपतिलाई संविधान निर्माण प्रक्रियाबारे जानकारी गराएका थिए । संविधानसभा सचिवालयले असोज ३ गते साँझ ५ बजे राष्ट्रपतिद्धारा जारी गर्ने कार्यक्रम तय गरेको छ । सचिवालयले राष्ट्रपतिलाई यसको निमन्त्रणा पनि पठाइसकेको छ ।

0 comments:

Post a Comment