Wednesday, August 5, 2015

के होला राजधानीको अपार्टमेन्ट संस्कृति?




 न फोहोर उठाउने मान्छे कहिले आउला भन्ने झर्को, न धारामा पानी नआउला कि भन्ने पीर न त आफू बाहिर हुँदा घरमा चोरी होला भन्ने डर। स्वीमिङ पुल, पार्कलगायतका सुविधा। गेट भित्र छुट्टै बर्गको एक समुदाय। सपना पछ्याउँदै राजधानी छिरेका तर कमाईले आफ्नै घर बनाउन नसक्ने/नचाहने मध्यम वर्गीय नेपालीको रोजाईमा बन्दै थियो– सामुहिक आवास (अपार्टमेन्ट)।

२०६४ सालमा सुरु भएको अपार्टमेन्ट संस्कृति एक दशक नपुग्दै धेरै फैलिसकेको थियो। तर वैशाख १२ को भूकम्प र त्यसपछि परकम्पले अग्ला अपार्टमेन्ट त हल्लायो नै, तर त्यो भन्दा धेरै हल्लायो त्यहाँ भित्र बस्नेहरुको मन।

हेटौंडाका ज्योति नकर्मीले ३ वर्ष पहिले नख्खुमा रहेको सनराइज अपार्टमेन्टको पाचौं तलामा फ्ल्याट किने। बेकरी उद्योग सञ्चालन गरिरहेका नकर्मी दम्पति काममा व्यस्त हुन्थे। उनीहरुले जग्गा किनेर आफ्नै घर बनाउन नखोजेका होइनन्। तर कमाएको पैसाले काठमाडौंमा जग्गा किनेर घर बनाउन सम्भव थिएन। फेरि कामकाजी दम्पत्तिका लागि घरको सुरक्षा पनि चुनौती नै थियो। घर बनाउन बैंकले दिने ऋणमा लामो प्रक्रिया पुरा गर्नुपथ्र्यो तर अपार्टमेन्ट किन्दा बैंकले सजिलै ऋण दिन्थ्यो। सबै कुराले सजिलो भएपछि नकर्मी दम्पत्तिले पनि अपार्टमेन्ट नै रोजे आफ्नै घर बनाउनुको साटो।

सशस्त्र प्रहरी बलका एआइजी जीवन थापालाई पनि आफ्नै घर बनाउनुभन्दा अपार्टमेन्टमा बस्नु सजिलो लाग्यो। उदयपुर गाईघाट पुर्ख्यौली घर भएका थापाले प्रेष्टिज अपार्टमेन्ट शंखपार्कको १० औं तलामा फ्लाट किने। किस्ताबन्दीमा पैसा तिर्न पाइने, सजिलो प्रक्रिया, सुरक्षा, पानी बत्तिको तनाव लिनु नपर्ने भएकाले थापाले काठमाडौंमा घर बनाउनुको साटो अपार्टमेन्ट रोजेको बताए।

नकर्मी र थापा त प्रतिनिधि पात्र हुन्। राजधानीमा बस्ने धेरै मध्यम वर्गीय परिवारले परम्परागत रुपमा आफ्नै घर बनाउनुको साटो आधुनिकताको प्रतीक मानिएको अपार्टमेन्टलाई स्वीकारेका गर्दै अघि बढ्ने क्रममा थिए। अपार्टमेन्ट एउटा संस्कृति  बन्न लागेको थियो।

तर वैशाख १२ को भूकम्पपछि धेरै मानिसले अपार्टमेन्ट छोडे। अपार्टमेन्टमा बस्नेहरु अन्तै भाडा बस्न थालेका छन्, कतिले आफन्तहरुसँग शरण लिएका छन्। नकर्मी अहिले सानेपामा भाडामा बसिरहेका छन् भने थापा आफन्तको घरमै बसिरहेका छन्।

उपत्यकाका धेरै अपार्टमेन्टको एउटै परिचय बनेको छ- रित्ता र चर्केका भित्ता। भवन विभागले क्षतिका आधारमा रातो पहेँलो र हरियो स्टिकर टाँसिदिएको छ। धेरै अपार्टमेन्टमा कस्मेटिक क्षति (गारो, भित्ता लगायतको क्षति) मात्र भएको छ। धापासीको पार्क भ्यू होराइजन अपार्टमेन्टमा भने संरचनागत रुपमै क्षति भएको छ। सो भवन भत्काउने वा रेट्रोफिट गर्नेबारे टुंगो लागिसकेको छैन्।

परकम्प बिस्तारै कम हुने क्रममा छ। अग्ला अपार्टमेन्टबारे मानिसको मनको परकंप कहिले कम होला थाहा छैन। अपार्टमेन्ट संस्कृति नै के होला भन्ने ठुलो प्रश्न जन्मिएको छ । 

तर अपार्टमेन्ट निर्माणकर्ता भने अग्ला घर सुरक्षितनै रहेको र बिस्तारै मानिसहरु फर्किने बताउँछन्। किनिसकेकाहरु पनि आफ्नै अपार्टमेन्ट फर्किने मनस्थिति बनाउँदै छन्। नयाँ मानिसले किन्ने कतिको आँट गर्छन, त्यसमा निर्भर गर्नेछ अपार्टमेन्ट संस्कृतिको पुनरुत्थान।    

हाउजिङ एण्ड लिजिङ एसोसियसन्सका अध्यक्ष इच्छाराम तामाङका अनुसार हाल उपत्यकामा ६० वटा अपार्टमेन्ट बनिसकेका छन्, ८७ वटा बनिरहेका छन् भने ३२ वटाले निर्माण स्वीकृति लिइसकेका छन्। उनका अनुसार अहिले राजधानीमा अपार्टमेन्ट कारोबार ठप्प जस्तो नै भएको छ। ‘कोही विदेशीहरु अपार्टमेन्ट भाडामा लिन आउँछन्, नत्र त ठप्पै छ’ तामाङले भने ‘परकम्प नरोकिएकाले पनि मानिसमा मनोवैज्ञानिक त्रास कायमै छ।’ तर त्यो  त्रास छिट्टै हट्नेमा तामाङ आशावादी छन्।  ‘अहिले क्षति भएका भवनहरुमा मर्मतसम्भार भइरहेको छ, २/३ महिनामै मानिसहरु अपार्टमेन्टमा फर्कनेछन्’, तामाङले भने।

भूकम्पपछि उपत्यकामा जग्गाको भाउ बढेको, इँटालगायत निर्माण सामग्रीको पनि महंगो भएको र मजदुरको पनि अभाव भएकाले नयाँ घर बनाउनु भन्दा अपार्टमेन्ट नै सस्तो पर्ने र सुरक्षित हुने तामाङको तर्क छ। उनी भन्छन्–तीन महिनापछि अपार्टमेन्ट किन्नेको ओइरो लाग्छ।

तामाङको तर्कमा सहमत छन् नकर्मी पनि। उनलाई आफ्नो अपार्टमेन्टमा कहिले बस्न पाइएला जस्तो लागेको छ। बच्चाहरुपनि डराउनुको साटो अपार्टमेन्ट बस्न जान आतुर रहेको उनले बताए। अपार्टमेन्ट भत्केर कसैको ज्यान नगएकाले अपार्टमेन्टमा बस्न डराउनु नपर्ने थापाको सुझाव छ। ‘अपार्टमेन्ट मर्मत भइरहको छ, सकिनासाथ उतै सर्ने हो’, थापाले भने।

तर कतिपयको आरोप छ सरकारले अपार्टमेन्ट व्यवस्थापनका लागि प्रभावकारी नीति नियम बनाएको छैन। बनाएको भएपनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन्। भवन निर्माताहरुले कम तलाको स्वीकृति लिएर धेरै तला बनाएका छन्। घना बस्ती भएको ठाउँमा अग्ला भवन ठड्याएका छन्।

शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरि शर्मा सरकारका तर्फबाट केही गल्ती भएको स्वीर्काछन्।  २०५४ सालमा बनेको संयुक्त आवास स्वामित्वसम्बन्धी ऐन अनुसार अहिले अपार्टमेन्ट नियमन भइरहेको छ। शर्माले भने– तर त्यो ऐन अपूर्ण छ। ‘कतिपयले भवन विभागका कर्मचारीहरुले विल्डर्ससँगको मिलेमतोमा मापदण्ड विपरित भवन बनाउन स्वीकृति दिएको आरोप लगाएका छन्’ शर्माले भने ‘तेस्रो पक्षबाट त्यसको निरीक्षण गरौं, सत्यतथ्य बाहिर आइहाल्छ।’

अहिले तेस्रो पक्षबाट अपार्टमेन्ट निरीक्षण गर्ने काम सुरु भएको छैन। बरू बिल्डर्सहरुले आफ्नै तरिकाले चर्केका भवन मर्मत गरिरहेका छन्। विभागले आंशिक क्षति भएका भवनको मर्मत कसरी गर्ने भन्ने कार्यविधि बनाएर मन्त्रालयमा पठाएको शर्माले जानकारी दिए। बारम्बार भूकम्प गइरहने जापानमा पनि कैंयौ तले भवन बनेकाले भूकम्प आयो भन्दैमा अपार्टमेन्ट संस्कृति नै हराएर नजाने शर्माले बताए। ‘बढ्दो जनसंख्या, कम जमीन र सेवा सुविधाका आधारमा अपार्टमेन्ट अहिलेको आवश्यकता हो’, शर्माले भने ‘अब पहिले भएका कमी कमजोरी र गल्ती सुधार्दै अपार्टमेन्ट बनाउनु पर्छ।’

0 comments:

Post a Comment