काठमाडौं, श्रावण ९ - एमाओवादी नेता बाबुराम भट्टराईले नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी भए नयाँ पुस्ताले प्रधानमन्त्री हुन ८० वर्ष कुर्नु नपर्ने बताएका छन् ।
‘यसका अतिरिक्त नयाँ पुस्ताले राजनीतिक नेतृत्वको अवसर पाउनेछन्,’ काठमाडौंमा आफैंले आयोजना गरेको अन्तर्क्रियामा उनले भने, ‘दलको रोलक्रमको प्रधानमन्त्री हुने पालो कुर्दा ८० वर्ष नाघ्ने नौवतबाट नयाँ पुस्ताले मुक्ति पाउनेछ ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणालीले विकासका योजनाहरुको शीघ्र कार्यान्वयनलगायतका कुरामा उल्लेख्य परिणाम ल्याउने भट्टराईको दाबी छ । उनले प्रत्यक्ष निर्वाचित कार्यकारीले बिना राजनीतिक किचलो विकासलाई गति दिन सक्ने उल्लेख गरे ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली कुनै ‘माओवादी’ वा ‘कम्युनिष्ट’ एजेण्डा नभएको उल्लेख गर्दै उनले कुनै पनि ‘कम्युनिष्ट’ मुलुकमा यो प्रणाली प्रयोगमा नभएको दृष्टान्त राखे ।
कुनै व्यक्ति विशेष नै यो प्रणालीबाट निर्वाचित हुन्छ भन्ने आशंका भए संविधानमा अहिल्यै विशेष व्यवस्था गरेर उसलाई उम्मेदवारीबाट वञ्चित गर्ने हो वा के गर्ने हो सोच्न सकिने बताए । ‘तर देश, जनता र भावी पुस्ताको निम्ति नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकै व्यवस्था गरौं,’ उनको भनाइ छ, ‘चन्द्रमामा (अब त प्लुटोमा !) पुग्ने लक्ष्य राख्ने हो भने बयलगाडा होइन अन्तरिक्षयान नै प्रयोग गरौं !!’
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली व्यक्तिकेन्द्रित हुन्छ भन्ने आशंका पनि सही नभएको उनको तर्क छ । ‘प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली अन्तरगतकै शासकीय प्रणाली हुनाले उम्मेदवार पार्टीभित्रैबाट पार्टीले नै छनौट गर्दछ,’ उनले भने, ‘पार्टीको संगठनात्मक शक्तिकै बलमा उम्मेदवार निर्वाचित हुन्छ ।’
यो प्रणालीले पार्टीहरुको आन्तरिक लोकतान्त्रीकरण, ‘पार्टी नेता’ मात्र होइन वास्तविक ‘राजनेता’ जन्माउने उनको भनाइ छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment